दफा २५
खतरापूर्ण मालसामानका सम्बन्धमा विशेष व्यवस्था
: (१) पे्रषकले ढुवानीको लागि तोकिएका खतरापूर्ण मालसामान जिम्मा दिंदा निजले त्यस्ता मालसामानको प्रकृति र त्यस्ता मालसामान ढुवानी गर्दा अपनाउनु पर्ने पूर्व सावधानीका बारेमा बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको प्रतिनिधि वा निजको तर्फबाट काम गर्ने अन्य कुनै व्यक्तिलाई जानकारी गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमका मालसामान जिम्मा दिंदा सम्भव भएसम्म त्यस्ता मालसामान रहेको प्रत्येक प्याकिङ्गको बाहिरी भागमा सो सम्बन्धमा स्पष्ट विवरण उल्लेख गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको प्रक्रिया पूरा नगरेको वा प्रेषक, निजको कर्मचारी वा निजको प्रतिनिधिको त्रुटि वा लापरवाहीका कारणले बहुविधिक ढुवानी सञ्चालनकर्तालाई बहुविधिक ढुवानी करार बमोजिमका मालसामान ढुवानी गर्ने सम्बन्धमा हुन गएको हानि नोक्सानीको लागि प्रेषक स्वयं जिम्मेवार हुनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिमको शर्त पूरा नगरेका अवस्थामा बहुविधिक ढुवानी सञ्चालनकर्ता त्यस्ता मालसामान ढुवानी गर्न बाध्य हुने छैन र त्यस्तो मालसामान कुनै पनि बखत कुनै पनि स्थानमा अनलोड गर्न, नष्ट गर्न वा कसैलाई दिन सक्नेछ ।
(५) उपदफा (१) बमोजिमको अवस्था थाहा पाउँदा पाउँदै बहुविधिक ढुवानी सञ्चालनकर्ताले त्यस्ता मालसामान ढुवानी गरेमा त्यसबाट हुनसक्ने हानि नोक्सानीको सम्बन्धमा बहुविधिक ढुवानी सञ्चालनकर्ता स्वयं जवाफदेही हुनेछ ।